काठमाडौँ । बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। यस अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका, जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ।
दशैँघर तथा पूजाकोठामा नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएका देवीको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ। टीका लगाउन शुभ साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ।
समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत खोज्नुपर्दैन। यद्यपि राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको उनले बताए। शुभ साइतमा टीका लगाउँदा शक्ति, उत्साह र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी विजयादशमीको टीका लगाउने परम्परा छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यो पर्वमा परिवारका सदस्य तथा आफन्तहरू एकै ठाउँमा भेला भई मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्छन्। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका लगाउन सक्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाका दिन पूजा गरी राखिएका जमरालाई देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ। पहेँलो जमरालाई समृद्धि र शुभताको प्रतीक मानिन्छ। घटस्थापनाका दिन स्थापना गरिएका देवीदेवताको विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको समितिले जनाएको छ।
टीका लगाउँदा दिशा मिलाउनुपर्ने धार्मिक मान्यता
धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने धार्मिक मान्यता रहेको उनले बताए।
टीका लगाउने र लगाइमाग्ने व्यक्तिले फर्कनुपर्ने दिशा कोजाग्रत पूर्णिमासम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण गरिने परम्परा छ।
विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्नुअघि घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गर्ने चलन छ। यसरी अभिषेक गर्दा वर्षभरि शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
असत्यमाथि सत्यको विजयको प्रतीक
विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइन्छ। धार्मिक मान्यताअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गरेका थिए। त्यसैको स्मरणमा विजयादशमी मनाउन थालिएको विश्वास छ।
यस दिन गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बुबाआमा तथा अन्य मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी दीर्घायु, सुख, शान्ति, समृद्धि, यश र ऐश्वर्य प्राप्तिको आशीर्वाद लिने गरिन्छ। टीका र जमरा लगाउन मान्यजन तथा आफन्तको घर जानेको चहलपहल पनि बढ्ने गर्छ।
टीका लगाउँदा दिइने आशीर्वाद मन्त्र
विजयादशमीमा पुरुषलाई टीका लगाउँदा परम्परागत रूपमा विभिन्न पौराणिक पात्रका गुण र विशेषता प्राप्त होऊन् भन्ने कामनासहित मन्त्र पाठ गर्ने चलन छ।
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।
यस मन्त्रमा अश्वत्थामाको जस्तो आयु, राजा दशरथको जस्तो श्री, भगवान् रामको जस्तो शत्रुमाथिको विजय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्ने कामना गरिएको हुन्छ।
महिलालाई टीका लगाउँदा दुर्गा देवीका विभिन्न स्वरूपको स्मरण गर्दै निम्न मन्त्रबाट आशीर्वाद दिने परम्परा छ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
यस मन्त्रमा जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नामका देवीलाई नमन गरिएको छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहे पनि नेपालका केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन छ। केही समुदायले आफ्नो कुलपरम्पराअनुसार दही र अक्षता मिसाएर सेतो टीका लगाउने गर्छन्।