म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतसँगको व्यापारिक तथा पर्यटकीय सम्पर्कका लागि महत्वपूर्ण बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढी, पहिरो र नदी कटानबाट क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँसम्म बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, पहिरो र कटानले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० स्थानमा सडक बगाएको वा भत्काएको छ भने करिब ५० स्थानमा पहिरोले क्षति गरेको छ।
शर्माले सडकको प्रारम्भिक मर्मत गरी दुई सातामै यातायात सञ्चालनमा ल्याइए पनि पूर्ण रूपमा पुनर्निर्माण गर्न ठूलो बजेट आवश्यक पर्ने बताए। उनका अनुसार पहिरो नियन्त्रण, नदी कटान रोकथाम र सडकको स्तरोन्नतिसँगै म्याग्दी खण्डमा यसअघि डिबिएसडी प्रविधिबाट कालोपत्र गरिएको सडकलाई डिजाइनअनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्नुपर्नेछ।
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर लामो सडकमा सबैभन्दा बढी क्षति म्याग्दी खण्डमा भएको छ। उक्त खण्डको करिब ३३ किलोमिटर सडक प्रभावित भएको छ। यसअघि पहिरो र कटानको जोखिममा रहेका स्थानसँगै नयाँ क्षेत्रमा समेत सडक भत्किने र कटान हुने समस्या देखिएको छ।
सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३/७४ मा निर्माण सुरु भएको बेनी–जोमसोम–कोरला सडकमा हालसम्मकै ठूलो क्षति भएको बताए। योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीका अनुसार म्याग्दी खण्डमा हालै स्तरोन्नति गरिएका सडकमा समेत उल्लेख्य क्षति पुगेको छ।
बाढीपहिरोअघि म्याग्दी खण्ड पार गर्न एक घण्टा तीन मिनेट लाग्ने गरेकामा अहिले तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ। पर्वतको फर्से, केराबारी र लामाबगरदेखि म्याग्दीका तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइँठेभिर, खामभित्ता र सुकेबगरलगायत क्षेत्रमा पहिरो तथा कटानले ठूलो क्षति पुर्याएको छ।
कालीगण्डकी नदीले बगाएको पोखरेबगर सडक पुलमा अस्थायी मार्ग निर्माण गरेर यातायात सञ्चालन गरिएको छ। अन्य क्षतिग्रस्त स्थानमा पनि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक खुलाइएको छ। तर साँघुरो मार्गका कारण सवारीसाधन फस्ने र जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए।
कोरला नाकाबाट आवतजावत गर्ने मालवाहक कन्टेनर, मुस्ताङ जाने पर्यटक तथा स्थानीयवासीको चापका कारण सडकमा थप समस्या देखिएको छ। चीनसँगको व्यापारिक नाका, पर्यटन र आन्तरिक यातायातका दृष्टिले बेनी–जोमसोम–कोरला सडकलाई महत्वपूर्ण मानिन्छ।
केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गरेका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सडक तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका थिए। उनले पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाउनसमेत निर्देशन दिएका थिए।