काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। बडादसैँको नवरात्रअन्तर्गत नवौँ दिन मनाइने यस पर्वमा देवी दुर्गाको पूजा, बलि तथा विभिन्न धार्मिक अनुष्ठान गरिन्छ।
महानवमीका अवसरमा घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा चढाउने परम्परा छ। यस दिन दसैँघर, कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा विशेष पूजाआराधना गरिन्छ। कतिपय स्थानमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिई दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ।
पशुबलि नदिने तथा शाकाहारी भक्तजनले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललगायत फलफूल तथा तरकारीको बलि दिएर देवीलाई पायस चढाउने गर्छन्। अधिकांश स्थानमा महाष्टमीका दिन बलि दिने र महानवमीमा मार हान्ने परम्परासमेत रहेको छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन्। यही धार्मिक मान्यताका कारण महानवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिएको हो। कतिपय शक्तिपीठमा यस दिन हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने प्रचलनसमेत छ।
नवरात्रको अन्तिम दिन आज देशभरका शक्तिपीठमा पूजाआराधना र दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी स्थापना गरिएको पूजास्थल तथा दसैँघरमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ। महानवमीसँगै बडादसैँका धार्मिक गतिविधि थप उत्साहका साथ अघि बढ्ने गर्छन्।