नारायणगढ (चितवन) । चितवनको देवघाटदेखि नवलपुरस्थित मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ। करिब दुई किलोमिटर दूरीमा फैलिने उक्त परियोजना आइएमई ग्रुपले अघि बढाएको हो। कम्पनीका अनुसार केबलकार निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हाल गैँडाकोटस्थित बटम स्टेसनदेखि मौलाकालिका मन्दिरनजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालनमा छ। अब देवघाटबाट समेत मौलाकालिका मन्दिरसम्म पुग्न सकिने गरी नयाँ परियोजना अघि बढाइएको हो।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देवघाट र मौलाकालिकालाई जोड्ने केबलकार परियोजनाको काम अगाडि बढेको जानकारी दिए। उनका अनुसार परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया अघि बढिरहेको छ।
केबलकार सञ्चालनमा आएपछि देवघाट र मौलाकालिका क्षेत्रबीच धार्मिक तथा पर्यटकीय आवागमन बढ्ने अपेक्षा गरिएको छ। धार्मिक आस्थाका महत्वपूर्ण केन्द्रका रूपमा परिचित यी दुवै स्थानलाई केबलकारले जोड्दा तीर्थयात्री तथा पर्यटकलाई आवतजावत गर्न सहज हुने विश्वास गरिएको छ।