जुम्ला । जुम्लाबाट यस वर्ष सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ। कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउमध्ये हालसम्म उक्त परिमाणमा स्याउ अन्य जिल्लामा पठाइएको हो।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जुम्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। यसबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले बताए।
हाल किसानले स्थानीय बगैँचाबाट प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्। तातोपानी गाउँपालिका–६ बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा गरिएको सामूहिक स्याउ खेतीबाट ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ। उक्त उत्पादनबाट ३० लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।
जुम्लामा हाल करिब चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य राखिएको अधिकारीले बताए।
जिल्लामा उच्च जातको फुजी स्याउ ५२ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ। तर, यस वर्ष ४९ हेक्टर क्षेत्रफलमा मात्रै फुजी स्याउ फलेको कृषि विकास कार्यालयले जनाएको छ।
यसैगरी, जुम्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन, रिचा रेड, जनाथन र स्परलगायत विभिन्न जातका स्याउको खेती हुँदै आएको छ। केही व्यापारीले स्याउ कोल्ड स्टोर तथा घरमा भण्डारण गरेर राखेकाले आगामी दिनमा निर्यातको परिमाण र कारोबार अझ बढ्न सक्ने कार्यालयको अनुमान छ।
जिल्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको कृषि विकास कार्यालयले जनाएको छ। यस वर्ष भारतबाट आउने स्याउको आयात बन्द भएपछि नेपाली बजारमा जुम्ली स्याउको माग बढेको बताइएको छ।
हिमा गाउँपालिकाकी स्थानीय स्याउ व्यापारी माया रोकायाले जुम्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरेर नेपालगञ्जमा बिक्री गरेको जानकारी दिइन्। भारतबाट स्याउको आपूर्ति रोकिएपछि जुम्ली स्याउले बजार पाउँदा किसान तथा व्यापारी उत्साहित भएका छन्।