जुम्ला । दसैँको रौनक चलिरहेका बेला जुम्लाका किसानलाई मार्सीधान काटेर भित्र्याउने चटारो बढेको छ । पाकेको धान स्याहार्नुपर्ने भएकाले किसान बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै व्यस्त हुन थालेका छन् ।
तातोपानी गाउँपालिकाकी स्थानीय सुनीता पाण्डेका अनुसार दसैँको रमाइलोसँगै किसानलाई मार्सीधान काट्ने कामले थप व्यस्त बनाएको छ । चाडपर्व मनाउनुभन्दा धान काटेर सुरक्षित रूपमा भित्र्याउन किसानको ध्यान केन्द्रित भएको उनले बताइन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग जोडिएको बताए । मार्सीधान खेतीको आफ्नै समय र मौसमी चक्र हुने भएकाले सोहीअनुसार अहिले जिल्लाका विभिन्न फाँटमा किसान धान भित्र्याउन व्यस्त रहेको उनको भनाइ छ ।
कृषि विकास कार्यालयका अनुसार जुम्लामा कुल दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । पछिल्ला वर्षमा मार्सीधान खेतीप्रति आकर्षण बढ्दै गएको जनाइए पनि यस वर्ष भने खेती गरिएको क्षेत्रफल घटेको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा मार्सीधान खेती गरिएकामा यस वर्ष एक हजार २०० हेक्टरमा मात्र खेती गरिएको कार्यालयले जनाएको छ ।
मार्सीधानसँगै जुम्लाका किसानले कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेका अन्य जातका धान पनि लगाउँदै आएका छन् । कार्यालयका अनुसार चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धानसमेत जिल्लामा खेती हुने गरेका छन् ।