चितवन -दसैँमा जिल्लामा ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन्। यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ।
दसैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ। मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ।
अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ। जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन्।
अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उनले जानकारी दिए। यो तथ्याङ्कमा दसैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन।
गत वर्षको दसैँमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो। यस पटक बिक्री बढ्ने देखिएको उनले बताए। १५ हजारसम्म खसी–च्याङ्ग्रा (बनाएर वा जिउँदो) बिक्री हुने अनुमान गरिएको उनले भने।
कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ । विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले दसैँमा भारतीय खसीबोका आयात गरेका छैनन्।
चितवनमा सञ्चालनमा आएका सहकारीहरुले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताए। उनका अनुसार यसपटक चितवनका खसीहरु कठमाडौँ पठाइएको छ।
चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरुबाट खसी आउने गरेको उनले जानकारी दिए।
जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ । तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ।
कुखुराको मासु भने खासै दसैँमा बिक्री नहुने उनको भनाइ छ। उनका अनुसार रु चार करोड हाराहारीको कुखुराको मासु बिक्री हुने अनुमान गरिएको छ।
गत वर्षको तुलनामा दसैँका लागि चितवनमा च्याङ्ग्रा मागभन्दा बढी आएको छ। पहिला मुस्ताङबाट मात्र च्याङ्ग्रा आउने चितवनमा यसपटक जुम्ला, बझाङ, डोल्पाबाट पनि चितवनको बजारमा च्याङ्ग्रा आइरहेको छ।
यस वर्षको दसैँमा चितवनमा तीन हजारभन्दा बढी च्याङ्ग्रा आएको उनले बताए। जसका कारण व्यापार वढ्ने आकलन छ।
यस अघिका दसैँमा फूलपातीबाट मासुको व्यापार बढ्ने भए पनि यस वर्ष घटस्थापनाबाटै बढेकाले खपत बढ्ने अनुमान गरिएको उनको भनाइ छ।