उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। ‘सानो दारे’ नामले चिनिने करिब २० देखि २५ वर्ष उमेरको हात्ती मंगलबार मृत अवस्थामा भेटिएको हो।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो।
प्रारम्भिक अनुमानअनुसार हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रमुख श्रेष्ठले बताए। यद्यपि, मृत्युको वास्तविक कारण भने पोस्टमार्टमपछि मात्रै खुल्नेछ।
आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले कोशीटप्पु वन्यजन्तु आरक्षले आजै पोस्टमार्टम गर्ने तयारी गरेको छ। पोस्टमार्टमपछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ।