काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले २०८३ असोज २५ गते गरेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मंगलबार सूचना प्रकाशित गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।
कालोसूचीमा पर्नेमा अछामको कमलबजार नगरपालिकाको सिफारिसमा कैलालीको धनगढीस्थित बराहा डेभलपर्स प्रा.लि. (साविक राजेन्द्र निर्माण सेवा प्रा.लि.) रहेको छ। भीमबहादुर साउँद मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै, सुनसरीको हरिनगरा गाउँपालिकाको सिफारिसमा महोत्तरीको जलेश्वरस्थित दिपक निर्माण सेवा (मुख्य व्यक्ति सोमन्त यादव) लाई पनि कालोसूचीमा राखिएको छ।
भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा बुटवलस्थित अभियन्ता कन्स्ट्रक्सन प्रा.लि. (मुख्य व्यक्ति सजल नेपाल), पशु रोग अन्वेषण प्रयोगशाला पोखराको सिफारिसमा तनहुँको फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि. (मुख्य व्यक्ति राजकुमार श्रेष्ठ) तथा प्रसौनी बहुप्राविधिक शिक्षालय बाराको सिफारिसमा पर्साको प्रिन्स कन्स्ट्रक्सन (मुख्य व्यक्ति अरविन्द चौरसिया) लाई दुई–दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।