काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दसैँघर तथा पूजा कोठामा देवी चन्द्रघण्टाको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने परम्परा छ।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले शिरमा अर्धचन्द्र धारण गर्नुका साथै हातमा घण्ट लिने भएकाले उहाँको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक तथा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रका अवसरमा देवीको विशेष आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। मार्कण्डेय पुराणमा पनि चन्द्रघण्टा देवीको नाम र स्वरूपबारे व्याख्या गरिएको छ।
चन्द्रघण्टा देवीको वर्ण पहेँलो रहेको धार्मिक मान्यता छ। उहाँले अत्याचारी र दानवी प्रवृत्तिको नाश गर्ने विश्वास गरिन्छ। यस दिन मणिपुर चक्रमा ध्यान गरी देवीको आराधना गर्ने परम्परा रहेको छ। देवीको स्वरूपको ध्यान र पूजा गर्दा विभिन्न शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाबाट पाप नाश हुने उल्लेख छ। शान्त, सौम्य र करुणामयी स्वरूपकी देवी चन्द्रघण्टाको विशेष आराधना संगीत क्षेत्रमा लागेका व्यक्तिले पनि गर्ने गरेको उनले बताए। आजका दिन देवीको पूजा र ध्यान गर्नाले ललाटमा तेज तथा चमक प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जमरा राखिएको थियो। घटस्थापनालाई देवीको ध्यान र साधनामा आफूलाई समर्पित गर्ने प्रक्रियाका रूपमा श्रीमद्देवीभागवतलगायत पुराणमा व्याख्या गरिएको छ। सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो।
त्यसैगरी, नवरात्रको दोस्रो दिन सोमबार दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा गरिएको थियो भने आज तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिँदैछ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। यस अवधिमा देवीको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।
दुर्गा पक्षका रूपमा समेत चिनिने नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ देवीलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा रहेका प्रमुख शक्तिपीठमा भक्तजन बिहानैदेखि दर्शनका लागि पुग्ने गरेका छन्। नवरात्रका नौ दिनमा कम्तीमा नौ वटा शक्तिपीठमा पुगेर पूजा तथा दर्शन गर्नुपर्ने धार्मिक मान्यताअनुसार कतिपय भक्तजन विभिन्न मन्दिरमा पुगेर आराधना गरिरहेका छन्।