इस्टोनिया। उत्तरपूर्वी इस्टोनियामा पुराना तथा कवाडी गाडीहरूबीचको अनौठो मोटरस्पोर्ट्स प्रतियोगिता ‘रोमुराल्ली’ सम्पन्न भएको छ। खानीजन्य फोहोरको थुप्रोबाट बनेको डाँडामा आयोजित प्रतियोगितामा ७० वटा पुराना सवारीसाधन ६०० मिटर लामो घुमाउरो ट्रयाकमा प्रतिस्पर्धामा उत्रिएका थिए।
इस्टोनिया एलामुस्पार्क (अनुभव पार्क) मा आयोजित प्रतियोगितामा गाडीको तीव्र गति, इन्जिनको गर्जन र एकापसमा ठोक्किने दृश्यले दर्शकलाई रोमाञ्चित बनाएको थियो। केही चालकको लक्ष्य बढीभन्दा बढी ल्याप पूरा गर्नु थियो भने केहीका लागि प्रतिस्पर्धी गाडीलाई ठक्कर दिनु नै मुख्य आकर्षण बन्यो।
चालक आर्तुर स्मिर्नोभले ल्याप पूरा गर्नुभन्दा गाडी ठोक्काउनुमा बढी मज्जा आउने बताए।
सुरक्षालाई ध्यानमा राख्दै आयोजकले प्रतियोगितामा सहभागी हुने गाडीका बत्ती, ऐना र अधिकांश सिसा हटाउनुपर्ने नियम बनाएका थिए। गाडीको बडी वा च्यासिस थप बलियो बनाउन प्रतिबन्ध लगाइए पनि प्रभावकारी ब्रेक, सिट बेल्ट र अग्निनियन्त्रक उपकरण अनिवार्य गरिएको थियो।
प्रतियोगितामा सहभागी हुन चालकको उत्साह उच्च देखिएको थियो। सुरुमा ६० वटा गाडीका लागि छुट्याइएको कोटा तत्काल भरिएपछि आयोजकले थप १० गाडीलाई सहभागी गराएका थिए।
एकापसमा ठोक्किँदा क्षतिग्रस्त भएका गाडीलाई पनि ट्रयाकमा निरन्तर कुदाइराख्नु चालकका लागि चुनौती बनेको थियो। अन्तिम चरणमा चालु अवस्थामा रहेका गाडीले प्रतिस्पर्धा गरेका थिए। समान ल्याप पूरा गर्ने चालकको नतिजा समयका आधारमा निर्धारण गरिएको थियो।
प्रतियोगिताबाहिर डाँडाबाट गाडी तल गुल्ट्याएर देखाइएको ‘कार बलिङ’ स्टन्टले पनि दर्शकको ध्यान खिचेको थियो। कवाडी बन्न लागेका पुराना गाडीलाई प्रतिस्पर्धा र मनोरञ्जनको माध्यम बनाइएको यो प्रतियोगिता चालक तथा दर्शक दुवैका लागि आकर्षण बनेको थियो।