कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा पुल मर्मतका लागि उक्त रकम छुट्याइएको हो। आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेटमार्फत पुल मर्मतका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।
केही दिनअघि महाकाली नदीमा आएको बाढीले पुलको पिलर भत्काउँदा झोलुङ्गे पुल नदीमा खसेको थियो। विसं २०६१ मा निर्माण गरिएको पुल भत्किएपछि भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाबीचको आवतजावत प्रभावित बनेको छ।
पुल क्षतिग्रस्त भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूले घटनाकै दिन पुलको निरीक्षण गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको प्रारम्भिक प्राविधिक अध्ययन गरिसकेको छ। नदीमा पानीको बहाव घटेपछि पुलका अन्य पिलरको अवस्थासमेत अध्ययन गरिने जनाइएको छ।
प्राविधिक अध्ययनपछि आवश्यक मर्मत कार्य अघि बढाइनेछ। प्राविधिक टोलीका अनुसार पुलको मर्मत सम्पन्न गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ।