काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बाढीले आरुघाट र धादिङ जोड्ने पुल बगाएको हो।
बाढीले गोरखाका विभिन्न स्थानमा रहेका अन्य पुलमा समेत क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।
बूढीगण्डकीमा आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ।