गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढी आरूघाट बजार पुगेको छ । आज बिहान आएको बाढी आरूघाट पुगेपछि बजार क्षेत्र खाली गराइएको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै माइकिङ गरिरहेको छ ।
बाढीले यसअघि नै पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुगेको छ ।
उनका अनुसार चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ । आज बिहान करिब ४ बजे ती गाउँमा बाढी पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए ।