पोखरा। चाडपर्व नजिकिएसँगै कास्की प्रहरीले पोखरा भित्रिने मुख्य नाकामा सुरक्षा जाँच तीव्र पारेको छ। आपराधिक गतिविधि नियन्त्रण र लागुऔषध तथा विस्फोटक पदार्थको ओसारपसार रोक्न प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक जाँच थालेको हो।
यसैक्रममा पोखरा महानगरपालिका–२५, हेम्जास्थित सुइखेतमा विशेष सुरक्षा जाँच गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा गरिएको जाँचमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउन तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो।
कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न र सम्भावित आपराधिक घटना रोक्न अभियान सञ्चालन गरिएको हो।
जनपद प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले पोखराका विभिन्न संवेदनशील क्षेत्रमा समेत जाँच गरिरहेको छ। चाडपर्व अवधिभर आकस्मिक सुरक्षा जाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। प्रहरीले नागरिकलाई निर्धक्क यात्रा गर्न र सुरक्षा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।