पोखरा। बडादसैँ र तिहार नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगीका घटना बढेका छन् । टिकटक, फेसबुक र इन्स्टाग्राममा सामानको आकर्षक विज्ञापन राखेर रकम असुल्ने प्रवृत्ति बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई सतर्क रहन आग्रह गरेको छ ।
प्रहरीका अनुसार अनलाइन किनमेलको बढ्दो प्रवृत्तिको फाइदा उठाउँदै ठगी गर्ने गिरोह सक्रिय छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले गत वर्षको तुलनामा यस वर्ष यस्ता उजुरी बढिरहेको बताए ।
हालै पोखराका एक व्यक्तिले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीबाट ५ सय रुपैयाँको कुर्था खरिद गर्न खोज्दा ४ लाख ४२ हजार रुपैयाँ गुमाएका छन् । उनलाई विभिन्न बहानामा पटक–पटक रकम पठाउन लगाइएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले धनगढीबाट १७ वर्षीय किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ ।
पासवानले भने, ‘अनलाइन भुक्तानी गर्दा सकेसम्म डेलिभरीपछि मात्र पैसा तिर्ने विधि अपनाउनु सबैभन्दा सुरक्षित हुन्छ ।’
दर्ता भएका विश्वसनीय पोर्टलबाट मात्र सामान खरिद गर्न र अपरिचित व्यक्तिको खातामा रकम नपठाउन प्रहरीले आग्रह गरेको छ ।