धनकुटा -आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ।
विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ। यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ। महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर पौडेल एक वर्षेमा करिब १०० ठेकी बनाउँदै आएका छन्।
उनले फुर्सदका समयमा मात्रै ठेकी बनाउने काम गर्दै आएको बताए। खेतीपातीको याममा लगाउने र बाली उठाउने यामबाहेकका समयमा ठेकी बनाउने काम गर्दै आएको उनको भनाइ छ।
उनले बनाउने ठेकी सानोदेखि ठूलो आकारसम्मका हुन्छन्। यसमा दुईदेखि ३८ कुरुवासम्म अट्ने क्षमता ठेकी बनाउँदै आएको उनको भनाइ छ। ठेकीसँगै पौडेलले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेको बताउँछन्।
परम्परागत तरिकाले बनाउँदा ठेकीप्रति कुरुवा ३०० रुपैयाँका दरले बिक्री हुने गरेको छ। सानो दुई कुरुवा अट्ने ठेकी ६०० र ३८ कुरुवा अट्ने ठेकी करिब ११ हजार ४०० मा बिक्री हुँदै आएको छ। यसबाट वार्षिक रूपमा करिब छ लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएको बताए।
कालिगढ पौडेलका अनुसार, बिजुलीबाट बनाइने ठेकीभन्दा परम्परागत ठेकीप्रति कुरुवा करिब १०० रुपैयाँ सस्तो पर्ने गरेको छ। त्यसैले बजारमा परम्परागत रूपमा चुदारोको प्रयोग गरेर बनाइएको ठेकीको माग राम्रो रहेको छ।
ठेकी निर्माण प्रक्रिया निकै रोचक र मेहनतपूर्ण छ। नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर माथिबाट झारेर साचो घुमाइन्छ। त्यसपछि सो साचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई बिस्तारै आकार दिइन्छ।
यसरी तयार गरिने ठेकीमा कालिगढको सीप र कलात्मकता स्पष्ट देखिन्छ। ठेकी बनाउन मुख्यतः दार र कटहरका रूखको काठ प्रयोग गर्दा उपयुक्त मानिन्छ। दार र कटहरका काठबाट बनाइएको ठेकी दूध जमाउँदा दही र मोही मीठो हुन्छ भन्ने मान्यता रहेको छ तर पछिल्लो समय काठ र चुदारोको अभावका कारण यो परम्परा हराउँदै जाने चिन्ता बढ्दो छ।
महालक्ष्मी –४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार, गाउँमा बिजुली पुगे पनि ठेकी निर्माणमा पुरानै विधि अपनाइँदै आएको छ। पानी र चुदारोको प्रयोग गरेर ठेकी मात्र नभई कुटानी–पिसानीको मिलसमेत सञ्चालनमा रहेको उनले बताए।
उनका अनुसार गाउँमा केही समयअघि विद्युत्बाट चल्ने ठेकी बनाउने मेसिन आएको भए पनि दीर्घकालीन सञ्चालन हुन सकेन। बूढाथोकीले पानी र चुदारोको प्रयोगबाट उत्पादन हुने सामग्री सस्तो पर्ने मात्र होइन, वातावरणमैत्री र दिगो पनि हुने बताए।
यसले स्थानीय सीप, परम्परा र पहिचानलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। बूढाथोकीले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाले काम गरिरहेको बताए। उनले भने, “ यस्ता परम्परागत सीपले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सांस्कृतिक सम्पदाको जगेर्ना गर्न अझ योगदान पु¥याएको। ”