काठमाडौं । इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरिएको घटनामा नेपाल प्रहरीले पीडितहरूलाई जाहेरी दिन आग्रह गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूचना जारी गर्दै ठगीमा परेका व्यक्तिहरूलाई सम्बन्धित प्रमाणसहित यथाशीघ्र जाहेरी दिन अनुरोध गरेको हो ।
ब्युरोका अनुसार सन् २०२४ मा इजरायलको ‘केयरगिभर’ रोजगारीका लागि सञ्चालन गरिएको परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका युवालाई तत्काल इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको थियो । पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा तयार पारिएका फर्जी कागजात देखाएर रकम असुलिएको अनुसन्धानबाट खुलेको छ ।
पीडितहरूले दिएको जाहेरीका आधारमा योजनाबद्ध रूपमा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको ब्युरोले जनाएको छ । घटनामा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंलगायत व्यक्तिहरू संलग्न रहेको आरोप छ ।
घटनामा चौलागाईंसहित चार जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
ब्युरोले घटनामा विभिन्न माध्यमबाट ठगीमा परेका अन्य व्यक्तिहरूलाई पनि आफूसँग भएका प्रमाणसहित केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिन आग्रह गरेको छ । थप पीडितहरू हुन सक्ने भएकाले उनीहरूको उजुरीसमेत संकलन गरी अनुसन्धानलाई अगाडि बढाइने ब्युरोले जनाएको छ ।