हुम्ला । हुम्लामा गएरातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।
नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ । यस्तै, अदानचुली, ताँजाकोटलगायत जिल्लाका तल्लो क्षेत्रमा गएरातिदेखि हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको हो ।
लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको सर्केगाड–१ जैरको खच्चाका दीपक कार्कीले बताए ।
उनका अनुसार खच्चामा सुक्खा पहिरो खसिरहने समस्या रहेको अवस्थामा निरन्तर वर्षा भएपछि सडक पूर्णरूपमा अवरुद्ध हुने जोखिम बढेको छ ।
वर्षाका कारण पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारीलगायतका बालीमा समेत क्षति पुग्ने जोखिम बढेको छ । केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
वर्षा र हिमपातका कारण पशुचौपायासमेत प्रभावित भएका छन् । चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको स्थानीयले बताएका छन् ।
मौसममा अचानक आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित जोखिमबाट जोगिन स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले सुरक्षित रहन आग्रह गरेका छन् । वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र जिल्लाका केही क्षेत्रमा अझै वर्षा जारी रहेको उनले बताए ।