काठमाडौँ । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), लैनचौरको टोलीले नवलपरासीका योगेन्द्रप्रसाद चौधरीलाई भालुको पित्तसहित तथा सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई हात्तीको दाह्रासहित पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार चौधरीलाई काठमाडौँको सोह्रखुट्टेबाट १४० ग्राम तौलको भालुको पित्तसहित पक्राउ गरिएको हो। त्यस्तै, माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट हात्तीको दाह्रासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूबाट कुल ६ किलोग्राम तौलको हात्तीको दाह्रा बरामद भएको छ।
पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँ तथा माझी र विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको सीआईबीले जनाएको छ।