बाजुरा । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले परम्परागत खेतीभन्दा फरक व्यवसाय अपनाएर ड्रागन फ्रुटखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका जैसीले यसलाई आफ्नो आम्दानीको प्रमुख स्रोत बनाएका हुन्।
विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय सञ्चालन गरेका जैसी त्यसपछि गाउँ फर्किएका थिए। गाउँ फर्किएपछि उनले ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी कुखुरापालन र तरकारीखेती सुरु गरे।
कृषि तथा पशुपालनमा संलग्न भइरहेका बेला नयाँ र फरक किसिमको व्यावसायिक खेती गर्ने सोच आएपछि उनी ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन्। कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदान लिएर उनले ड्रागन फ्रुटखेती सुरु गरेका थिए।
“केही नयाँ र फरक गर्नुपर्छ भन्ने सोच आयो,” जैसीले भने, “कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुखको सुझावमा अनुदान लिएर ड्रागन फ्रुटखेती सुरु गरेँ।”
सुरुमा परीक्षणका रूपमा केही बिरुवा लगाएका जैसीले उत्पादन राम्रो हुन थालेपछि खेती विस्तार गरेका हुन्। अहिले उनले पाँच रोपनी क्षेत्रफलमा ड्रागन फ्रुटका एक हजार ४०० बिरुवा लगाएका छन्।
ड्रागन फ्रुटका बिरुवाले दुई वर्षमै उत्पादन दिन थालेपछि जैसीको उत्साह बढेको छ। गत वर्ष करिब छ क्विन्टल फल बिक्री गरेका उनले यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेका छन्। अझै केही फल पाक्ने क्रममा रहेको उनले बताए।
“जेठदेखि फल्न सुरु हुन्छ र असोजसम्म सिजन रहन्छ,” उनले भने, “गत वर्ष करिब छ क्विन्टल बिक्री भएको थियो। यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु।”
जैसीका अनुसार ड्रागन फ्रुट बिक्रीबाट वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ। उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उनले बताए। मार्तडी बजारका साथै अछामको साँफेबगरसम्म लगेर फल बिक्री गर्दै आएका छन्।
उत्पादन बढ्दै गएसँगै आम्दानी पनि वृद्धि गर्न सकिने उनको भनाइ छ। राम्रो मलजल र व्यवस्थापन गर्न सके ड्रागन फ्रुटको एउटा बोटले २५ वर्षसम्म उत्पादन दिने उनले बताए।
“सुरुमा केही लगानी र मेहनत आवश्यक पर्छ,” जैसीले भने, “तर अन्य बालीको तुलनामा धेरै सिँचाइ आवश्यक पर्दैन। गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय–समयमा काँटछाँट गरे पुग्छ।”
जैसीको ड्रागन फ्रुटखेती अहिले बाजुरामा व्यावसायिक कृषिको उदाहरण बनेको छ। जिल्लामै ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटखेती गर्ने उनी पहिलो कृषक भएको बताइएको छ। अन्य केही स्थानमा पनि केही वर्षअघि खेती सुरु गरिए पनि व्यावसायिक रूपमा विस्तार हुन सकेको छैन।
बाजुरामा पर्याप्त कृषियोग्य जमिन भए पनि परम्परागत बालीमा मात्र निर्भर हुँदा किसानले अपेक्षित आम्दानी गर्न कठिन हुने गरेको छ। जिल्लाको करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन। वर्षभरि उत्पादन गरेको अन्नले समेत छ महिना खान नपुग्ने अवस्था रहेको बताइएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागन फ्रुटखेती सुरु गर्न सहयोग गरिएको थियो।
केन्द्रकी बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार समुद्री सतहबाट १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागन फ्रुटखेती गर्न सकिन्छ।
“नयाँ बाली भएकाले अहिले थोरै किसान मात्रै व्यावसायिक खेतीमा हुनुहुन्छ,” उनले भनिन्, “जिल्लामा ड्रागन फ्रुटखेतीको सम्भावना प्रशस्त छ। मेहनत र उचित व्यवस्थापनका साथ खेती गर्न सके राम्रो आम्दानी लिन सकिन्छ।”