दमौली (तनहुँ) । तनहुँका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा आन्तरिक पर्यटनको आकर्षण बढ्दै गएसँगै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य गन्तव्यसम्म विस्तार गर्ने योजना अघि सारिएको हो ।
बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार हाल बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ । गाउँ, पहाडी बस्ती, धार्मिकस्थल तथा प्राकृतिक क्षेत्रको अवलोकन गराउने उद्देश्यले सफारी सञ्चालन गरिएको उनले बताए ।
अब जीप सफारीलाई दमौली, मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूलसम्म विस्तार गरी धार्मिक तथा पर्यटकीय सर्किट निर्माण गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए ।
“बन्दीपुर र आँबुखैरेनीमा जीप सफारी भइरहेको छ । अब यसलाई जिल्लाका अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन सर्किटका रूपमा विकास गर्ने तयारी गरेका छौँ,” उनले भने ।
तनहुँमा धार्मिक, प्राकृतिक तथा ग्रामीण पर्यटनको पर्याप्त सम्भावना रहे पनि विभिन्न गन्तव्यलाई एउटै पर्यटन प्याकेजमा जोड्न नसकिएको पौडेलको भनाइ छ । विभिन्न गन्तव्यलाई एउटै यात्रामा समेट्न सके पर्यटकको बसाइ अवधि र खर्च दुवै बढाउन सकिने उनले बताए ।
मानुङकोट सूर्योदय तथा हिमशृङ्खला अवलोकनका लागि चर्चित बन्दै गएको छ । छाब्दी धार्मिक तथा प्राकृतिक आकर्षणका कारण महत्वपूर्ण गन्तव्य हो । त्यस्तै, छिम्केश्वरी उच्च पहाडी क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ भने आँधीमूल धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिन्छ ।
यी गन्तव्यलाई सडकमार्गबाट जोडेर जीप सफारी सञ्चालन गर्न सके पर्यटकले एउटै प्याकेजमार्फत फरक–फरक प्रकृतिका स्थलको भ्रमण गर्न सक्ने व्यवसायीको विश्वास छ ।
जीप सफारीमार्फत मुख्य बजार क्षेत्रबाट गाउँ तथा पहाडी बस्ती हुँदै पर्यटकीय गन्तव्यसम्म पर्यटक पुर्याउन सकिने भएकाले यसको लाभ ग्रामीण क्षेत्रसम्म पुग्ने अपेक्षा गरिएको छ । पर्यटकको आवागमन बढेमा स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, कृषि उपज तथा अन्य स्थानीय उत्पादनको बजार विस्तारमा समेत सहयोग पुग्ने व्यवसायी बताउँछन् ।
बन्दीपुर पहिलेदेखि नै नेपालको प्रमुख पहाडी पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । बन्दीपुर आउने पर्यटकलाई आसपासका ग्रामीण तथा धार्मिक क्षेत्रमा पुर्याउन सके जिल्लाका अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्न सकिने देखिन्छ । त्यसैगरी प्राकृतिक सौन्दर्य, धार्मिकस्थल र ग्रामीण परिवेशका कारण आँबुखैरेनीमा पनि पर्यटनको सम्भावना रहेको पौडेलले बताए ।
उनका अनुसार पर्यटकलाई एउटै गन्तव्यमा सीमित राख्नुको सट्टा विभिन्न स्थल समेटेर पर्यटन प्याकेज निर्माण गर्नु अहिलेको आवश्यकता हो । यसका लागि स्थानीय तह, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
“एउटा गन्तव्यमा पुगेपछि अर्को गन्तव्यसम्म जाने वातावरण बनाउन सकियो भने पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिन्छ,” पौडेलले भने ।
पर्यटन सर्किटसँगै स्थानीय समुदायलाई समेत पर्यटन व्यवसायमा जोड्नुपर्नेमा उनले जोड दिए । होमस्टे सञ्चालन, स्थानीय परिकार, हस्तकला, कृषि उपज तथा सांस्कृतिक गतिविधिमार्फत स्थानीयले प्रत्यक्ष आम्दानी गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
तनहुँका विभिन्न पर्यटकीय गन्तव्यबीच यातायातको सहज पहुँच, पूर्वाधार विकास तथा प्रचारप्रसारलाई एकीकृत गर्न सके जिल्लालाई लामो समयसम्म पर्यटकलाई आकर्षित गर्ने पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने व्यवसायीको विश्वास छ ।