काठमाडौँ । वडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ ।
बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाका अनुसार सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित विभिन्न पर्यटकीय क्षेत्रमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ राख्न लागिएको हो ।
यसका लागि ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल सङ्घ नेपाल, होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी सङ्घसंस्थासँग सहकार्य गरिएको बोर्डले जनाएको छ ।
सम्झौताअनुसार पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा लिङ्गे पिङ निर्माण गरी दसैँ अवधिभर सञ्चालन गरिनेछ । पिङ सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।
दसैँको कार्यक्रम सकिएपछि पिङ हटाएर निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ ।
नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै त्यसलाई पर्यटनसँग जोड्ने उद्देश्यले लिङ्गे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ।