ललितपुर। चाडपर्व नजिकिएसँगै भान्सामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने आगलागीको जोखिम न्यूनीकरण गर्न ललितपुरमा सचेतना तथा नमुना अभ्यास (डेमो) गरिएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा सोमबार भएको कार्यक्रममा ग्यास सिलिन्डर, रेगुलेटर र पाइपको सुरक्षित प्रयोगबारे व्यावहारिक जानकारी दिइएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले ग्यासको प्रयोगमा हुने सामान्य हेलचेक्र्याइँले ठूलो जनधनको क्षति निम्त्याउन सक्ने बताए। सिलिन्डर घाममा राख्ने, तेर्सो पारेर प्रयोग गर्ने तथा कमजोर पाइप प्रयोग गर्ने जस्ता अभ्यासले जोखिम बढाउने उनको भनाइ थियो।
नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम तथा त्यसलाई तत्काल नियन्त्रण गर्ने उपायबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए। सहभागीलाई सिलिन्डरको सुरक्षित प्रयोग र आगलागी नियन्त्रणका प्रारम्भिक उपायबारे समेत अभ्यास गराइएको थियो।
घिमिरेले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले घरका वयस्क सदस्यले यस्ता आधारभूत प्राविधिक सीप सिक्नुपर्ने बताए। उनले हरेक घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा कम्तीमा एउटा अग्निनियन्त्रक (फायर एक्सटिङ्गुइसर) राख्न र समय–समयमा रिफिल गर्न सुझाव दिए।
‘सिकौँ, सिकाऔँ र सुरक्षित रहौँ,’ घिमिरेले भने।