बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक स्तरोन्नतिको काम भइरहेका बेला माटोको ढिस्को खस्दा तीन जना कामदार पुरिएका छन् ।
सोमबार बिहान झिवाखोलाबाट बोहरागाउँतर्फ जाने भित्री सडकखण्डमा जेसिबीमार्फत सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको हो । ढिस्कोमा सडक निर्माणमा खटिएका तीन जना कामदार पुरिएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला माथिबाट माटो खसेर लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्णबहादुर घर्ती पुरिएका हुन् ।
पुरिएकामध्ये कृष्णबहादुर घर्तीलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरी प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिएका छन् । अन्य दुई जनाको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी र स्थानीयवासीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।