काठमाडौँ। बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आइतबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्। साउन १० गतेदेखि बन्द रहेका ती राजमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने जनाइएको छ।
मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा पहिरोका कारण प्रभावित कालीगण्डकी करिडोर भने एकतर्फी सञ्चालनमा छ। उक्त स्थानमा असोज १० गते बिहान ११ः३० बजेदेखि सडक अवरुद्ध भएको थियो।
त्यसैगरी, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोरमा एकतर्फी आवागमन भइरहेको भए पनि ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ। उक्त सडक असोज १४ गते अपराह्न ४ः४५ बजेदेखि पहिरोका कारण प्रभावित भएको हो।
