काठमाडौँ । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ विवादमा परेको छ। गीतमा बाहुन समुदायलाई होच्याउने शब्द प्रयोग गरिएको भन्दै हिन्दुवादी अभियन्ताहरूले आपत्ति जनाएपछि विवाद चर्किएको हो।
गीतका विषयमा हिन्दुवादी अभियन्ता सागर थापालगायतले साइबर ब्युरोमा उजुरी दिएका छन्। उजुरीपछि ब्युरोले मंगलबार गायक सेन्चुरी तथा उजुरीकर्ताहरूसँग छलफल गरेको थियो। यद्यपि, उक्त छलफल कुनै निष्कर्षमा पुग्न नसकेको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले जानकारी दिए।
उनका अनुसार बुधबार पनि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। ‘हिजो दुवै पक्षसँग छलफल भएको थियो। उक्त छलफल निष्कर्षमा पुग्न सकेन। आज फेरि छलफलमा बोलाइएको छ। आज यस विषयमा टुङ्गो लाग्छ होला,’ प्रवक्ता गिरीले भने।
गीतमा रहेको ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पङ्क्तिप्रति हिन्दुवादी अभियन्ताहरूले विशेष आपत्ति जनाएका छन्। उनीहरूले उक्त गीत हटाउन माग गर्दै आएका छन्।
सेन्चुरीकै शब्द, सङ्गीत र स्वरमा रहेको उक्त गीत करिब एक महिनाअघि सार्वजनिक भएको हो। पछिल्लो समय गीत सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा चर्चामा आएपछि विवादमा तानिएको हो।
यस विषयमा गायक सेन्चुरीसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनीसँग सम्पर्क हुन सकेन।