म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा पहिरोले चार घर र दुई गोठ पुरेको छ। पहिरोमा परी एक जना घाइते भएका छन्।
पहिरोले घर पुरेपछि च्यापिएको अवस्थामा उद्धार गरिएका ६५ वर्षीय आत्मराम शर्माको म्याग्दी प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ। उनको अवस्था सुधारोन्मुख रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए।
उनका अनुसार चक्रपाणि आचार्य, लिलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यका घर तथा ती घरसँगै रहेका दुई गोठ पहिरोमा पुरिएका छन्।
“मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा धाँजा फाटेको सूचना आएपछि धेरै मानिसलाई अन्यत्र सारिएको थियो। घरमै रहेका आत्मरामलाई पहिरोले पुरेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा उद्धार गरी अस्पताल पुर्याएका हौँ,” अध्यक्ष आचार्यले भने, “घाइतेको अवस्था सुधारोन्मुख छ। विस्थापितलाई मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छौँ।”
पहिरोले गोठमा रहेका दुई भैँसी र पाठापाडीसमेत पुरेको छ। घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री पनि पहिरोमा पुरिएका छन्। करिब १२ रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ।
स्थानीयवासीका अनुसार आत्मरामलाई पहिरोले पुरिएर रुखले च्यापिएको अवस्थामा उद्धार गरिएको हो।
यसअघि असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले लामाबगर क्षेत्रमा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको थियो। नदी कटानका कारण थप जमिन जोखिममा परेको छ।
बाढीपहिरोका कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको मालढुङ्गा–बेनी खण्डसमेत अवरुद्ध भएको छ। केराबारीको पहिरो पन्छाउने काम भइरहेको र बुधबारदेखि लामाबगरको पहिरो हटाउन डोजर परिचालन गरिने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए।
पछिल्लो चार दिनको वर्षाका कारण जलजला गाउँपालिकाका नौवटै वडामा भौतिक क्षति पुगेको छ। गाउँपालिका–८ फर्सेका ६८ घर कालीगण्डकीले बगाएको छ भने लामाखेतका २५ घर डुबानमा परेका छन्। धाइरिङमा २५ घर विस्थापित भएका छन् भने खानीगाउँका घरहरू पनि जोखिममा परेका छन्।
बाढी, पहिरो र नदी कटानका कारण असुरक्षित भएका स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय पर्वत तथा विभिन्न निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मंगलबारदेखि विपद्बाट भएको क्षतिको विवरण संकलन गर्न टोलटोलमा जनप्रतिनिधि र कर्मचारी परिचालन गरिएको अध्यक्ष आचार्यले बताए।