काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।
बाढीले सडक बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गर्नुका साथै विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
डिभिजन सडक कार्यालयका अनुसार रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव अझै उच्च रहेकाले सडक किनारबाट तत्काल डाइभर्सन निर्माण गर्न सम्भव नभएपछि खानेपानी पम्प हाउस रहेको भित्री ट्र्याक प्रयोग गरेर सवारी सञ्चालन गरिएको हो ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार खोलाको बहाव कम भएपछि चौकीडाँडामा सडक किनारबाटै स्थायी प्रकृतिको अस्थायी डाइभर्सन निर्माण गरिनेछ ।
यसअघि रोशी खोलामा आएको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएको थियो । यस्तै, दाउन्ने–कालोपुल र चारसयबेँसी क्षेत्रमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।
सडक कार्यालयले सोमबार बिहानदेखि बाढीले क्षति पुर्याएका स्थानमा अस्थायी डाइभर्सन निर्माण र विभिन्न खण्डमा खसेको पहिरो हटाउने काम तीव्र पारेको थियो ।
हाल जोखिमयुक्त स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेको छ । सडक कार्यालयका अनुसार ती स्थानमा आवश्यक मर्मत तथा संरचना निर्माण गरी छिट्टै दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।