मुस्ताङ । निरन्तरको वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार रातिदेखि विद्युत् तथा इन्टरनेट सेवा प्रभावित भएपछि जिल्लाको जनजीवन र सञ्चारसम्पर्कमा समस्या भएको हो ।
पर्वतको डिमुवाबाट मुस्ताङतर्फ आउने ३३ केभी विद्युत् प्रसारण लाइनका खम्बामा बाढीपहिरो र नदी कटानले क्षति पुर्याएपछि विद्युत् आपूर्ति बन्द भएको निलगिरि उपभोक्ता सहकारी संस्था, जोमसोमका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए ।
उनका अनुसार पर्वत र म्याग्दी क्षेत्रमा विद्युत् संरचनामा क्षति पुगेका कारण म्याग्दीको दाना सबस्टेसनसमेत चार्ज हुन सकेको छैन । बाढीपहिरोका कारण विद्युत् र इन्टरनेट दुवै सेवा अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङको अवस्थाबारे सूचना आदानप्रदान गर्नसमेत कठिनाइ भएको उनले बताए ।
यसैबीच, विद्युत् संरचनाको मर्मतपछि आइतबार साँझसम्म म्याग्दीको बेनीसम्म विद्युत् प्रसारण सञ्चालनमा आएको छ । ३३ केभी प्रसारण लाइन र दाना सबस्टेसनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली त्यसतर्फ पठाइएको थकालीले बताए ।
मुस्ताङको थासाङ गाउँपालिका–३ का केही स्थानमा रुख ढलेर विद्युत्का खम्बामा समेत क्षति पुगेको छ । मौसम खुलेपछि उक्त क्षेत्रमा विद्युत् प्रसारण लाइन मर्मत गर्न प्राविधिक टोली परिचालन गरिएको छ । सेवा यथाशीघ्र सञ्चालन गर्ने गरी टोलीहरू कार्यस्थलमा खटिएको थकालीले जानकारी दिए ।
यस्तै, बाढीपहिरो र नदी कटानका कारण फाइबर इन्टरनेट प्रसारण संरचनामा क्षति पुगेपछि मुस्ताङमा पछिल्लो ३६ घण्टादेखि इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल टेलिकम, जोमसोम शाखाले जनाएको छ ।
नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख हुम भुजेलका अनुसार पर्वत र म्याग्दीका दर्जनौँ स्थानमा फाइबर संरचनामा क्षति पुगेका कारण मुस्ताङसम्म इन्टरनेट सेवा पुर्याउन समस्या भएको हो । म्याग्दीको बेनीसम्म सेवा सञ्चालनमा आए पनि उत्तरी म्याग्दी र मुस्ताङमा सेवा अझै नियमित हुन सकेको छैन ।
बैसरी, थासाङको लेतेलगायत क्षेत्रमा फाइबर लाइन मर्मतको काम भइरहेको भुजेलले बताए । उनका अनुसार अप्टिकल फाइबर सेवा अवरुद्ध भए पनि मुस्ताङका केही स्थानमा नेपाल टेलिकमको रेडियो लिंकमार्फत टेलिफोन तथा फोरजी सेवा सञ्चालन भइरहेको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि कोरला नाकासम्म सौर्य ऊर्जाबाट सञ्चालन हुने रेडियो लिंक रहेकाले उक्त क्षेत्रमा टेलिफोन तथा फोरजी सेवा प्रयोग गर्न सकिने अवस्था रहेको उनले बताए ।
क्षतिग्रस्त फाइबर तथा विद्युत् संरचनाको मर्मतमा प्राविधिक टोली परिचालन भइरहेकाले आज साँझसम्म विद्युत् र इन्टरनेट सेवा नियमित सञ्चालनमा ल्याउने प्रयास भइरहेको टेलिकम र विद्युत् प्राधिकरणका स्थानीय अधिकारीहरूले बताएका छन्।