हुम्ला । निरन्तर वर्षा र हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाका अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम गर्न नसकेपछि सञ्चार सेवा प्रभावित भएको हो । सञ्चार सम्पर्क विच्छेद हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण संकलन गर्नसमेत कठिनाइ भएको जनाइएको छ ।
निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुगेको तथा सडकसमेत अवरुद्ध भएको बताइएको छ । वर्षासँगै सिमकोटलगायतका उच्च क्षेत्रमा हिमपात भइरहेको छ ।
हिमपातका कारण हिल्सा नाकासमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ । मौसम प्रतिकूल बनेसँगै जिल्लाको यातायात तथा दैनिक जनजीवनमा समेत प्रभाव परेको छ ।