सोलुखुम्बु । खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ। निरन्तर वर्षासँगै खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएपछि प्रशासनले जोखिमयुक्त क्षेत्रमा थप आवागमनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ। हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा पुगेका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ अघि नबढ्न आग्रह गरिएको छ।
उनका अनुसार पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ।
भारी हिमपातका कारण सगरमाथा क्षेत्रमा पर्ने इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ। प्रजिअ थापामगरका अनुसार चिनियाँ मूलका ती पर्यटक युरोपेली नागरिक रहेको जानकारी आएको छ। माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो।
इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने प्रमुख पर्वतारोहण गन्तव्यमध्ये एक हो। करिब ६ हजार १६५ मिटर उचाइमा रहेको यो क्षेत्रमा दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग जोडिन्छ।
प्रतिकूल मौसमलाई ध्यानमा राख्दै प्रशासनले थप पर्यटक तथा पदयात्रीलाई उच्च क्षेत्रमा जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरेको छ। प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक छन्। उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ। जोखिमपूर्ण अवस्थामा अनावश्यक रूपमा माथिल्लो क्षेत्रमा नजान आग्रह गरिएको उनले बताए।
गाउँपालिकाका अनुसार थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। हिमपात बढ्दै गएपछि पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा आवागमन नगर्न आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारी थापामगरले हिमपात थप बढेमा उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबीच समन्वय कायम गरिएको बताए।
उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको छ। प्रशासनले मौसम सामान्य नभएसम्म उच्च हिमाली क्षेत्रमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र पालिकाले जारी गरेका सुरक्षा सूचनाको पालना गर्न आग्रह गरेको छ।