काठमाडौँ । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।
शनिबार बिहान ६ बजेपछि गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह बढ्दै गएपछि ब्यारेजका थप ढोका खोलिएको हो।
यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९८ हजार २ सय २० क्युसेक पुगेपछि २५ वटा ढोका खोलिएका थिए। त्यसपछि दिउँसो १ बजे बहाव २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा र दिउँसो २ बजे २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो।
कोशी ब्यारेजमा पानीको बहाव बढेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। नदीमा जलसतह निरन्तर बढिरहेको भन्दै सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने लगायतका जोखिमपूर्ण गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
वर्षा जारी रहेकाले नदीको बहाव अझै बढ्न सक्ने जनाइएको छ। कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहरका गरी कुल ५६ वटा ढोका रहेका छन्।