काठमाडौं। दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन प्रभावित भएको छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिसडोल ल्यान्डफिल साइटमा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानी तथा व्यवस्थापनमा समस्या भएको हो।
फोहर व्यवस्थापन प्रभावित भएपछि प्रमुख राईले नगरवासीलाई घरमै फोहर वर्गीकरण गरी सम्भव भएसम्म स्रोतबाटै व्यवस्थापन गर्न आग्रह गरेकी छन्। उनले घर, पसल, व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहर सडक, सार्वजनिकस्थल, खोलानाला वा खुला क्षेत्रमा नफाल्न अनुरोध गरेकी छन्।
उनका अनुसार सार्वजनिकस्थल तथा खोलानालामा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकासमा समेत समस्या उत्पन्न हुन सक्छ।
मौसम र ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहर संकलन तथा ढुवानी नियमित रूपमा सञ्चालन गरिने राईले जानकारी दिइन्।
हाल काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक करिब २०० वटा गाडीमार्फत सिसडोल ल्यान्डफिल साइटमा फोहर पुर्याएर अन्तिम व्यवस्थापन हुँदै आएको छ।