म्याग्दी । प्रतिकूल मौसमका कारण म्याग्दीमा रहेको ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि पुगेको पर्वतारोही टोली आधार शिविरबाट फर्किएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर पुगेका ३० जना पर्वतारोही बिहीबार सुरक्षित स्थानतर्फ फर्किएका हुन् ।
आरोहण टोलीको समन्वय गरिरहेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनका अनुसार असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने पूर्वसूचना तथा प्रतिकूल मौसमका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै टोलीले आरोहण स्थगित गरेको हो ।
उनका अनुसार पर्वतारोहीहरू तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरतर्फ झरेका छन् । “चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय भएको छ,” शेरचनले भने । टोलीका केही सदस्य भने हेलिकप्टरमार्फत पोखरा पुगेका छन् ।
‘एट के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार पर्वतारोही टोली धवलागिरि आधार शिविर पुगेको थियो । तर, बिहीबारदेखि मौसम प्रतिकूल बन्दै गएपछि आरोहण स्थगित गरी सुरक्षित स्थानतर्फ फर्किएको हो ।
मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेका छन् । पर्यटन विभागले पनि हिमाली क्षेत्रमा रहेका पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
चालु शरदयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट चार समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ७७ लाख ८२ हजार ४५० रुपैयाँ आरोहण दस्तुर प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागका अनुसार गत वसन्तयाममा तीन समूहका १२ महिला र १६ पुरुष तथा २०८२ को शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका थिए ।
धवलागिरि आरोहणमा छिनछिनमा परिवर्तन हुने मौसम प्रमुख चुनौती मानिन्छ । अन्य हिमालको तुलनामा यसको आरोहण जोखिमपूर्ण र साहसिक मानिन्छ ।
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरको नेतृत्वमा पहिलोपटक धवलागिरिको सफल आरोहण भएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे शेर्पा र नवाङ दोर्जे शेर्पा पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।
यसैबीच, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरतर्फ गएका पर्यटक पनि प्रतिकूल मौसमका कारण फर्किएका छन् । मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार बिहीबारदेखि पदयात्रा बन्द गरिएको छ ।
पर्यटनयाम सुरु हुनै लागेका बेला भोटेकोशी बाढी तथा भारी वर्षाका कारण धेरै पर्यटकले भ्रमणसमेत रद्द गरेको गुरुङले बताए।