विराटनगर । अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द रहने जानकारी दिएको हो ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।
वर्षाका कारण नदीनालामा पानीको बहाव बढ्ने, बस्ती तथा सडकमा डुबान हुने र आवागमनका मार्ग अवरुद्ध हुन सक्ने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।
यसैबीच, विपद्को अवस्था सिर्जना भएमा सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न महानगरपालिकाले विद्यालय प्रशासनलाई आग्रह गरेको छ ।
वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले पनि विद्यालयमा दुई दिन स्थानीय बिदा दिएको छ ।