म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीका किसान गोविन्द किसानको बारीमा अकबरे खुर्सानी पाकेर राताम्मे हुन थालेको छ । कोदो र मकैको विकल्पमा पहिलो पटक दुई रोपनी जग्गामा खुर्सानी खेती गरेका उनी उत्पादन देखेर खुसी भए पनि उचित मूल्य र बजार नपाउँदा चिन्तित छन् ।
“गाउँका अन्य किसानको सफलताबाट प्रभावित भएर दुई रोपनीमा खुर्सानी लगाएको हुँ । खुर्सानी पाकेर राताम्मे हुन थालेको छ,” उनले भने, “उत्पादन देखेर खुसी हुनुपर्नेमा कहाँ लगेर कसरी बेच्ने भन्ने चिन्ताले सताएको छ ।”
गत वर्ष प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री भएको अकबरे खुर्सानी यस वर्ष प्रतिकिलो १७० रुपैयाँमा बिक्री गर्नसमेत मुस्किल भइरहेको किसानको गुनासो छ ।
सोचिन्द्रा कृषि तथा पशुपक्षी फार्मका सञ्चालक लालबहादुर पुनले पनि यस वर्ष चिनाखेतस्थित पुख्र्यौली जग्गाको नौ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरेका छन् । गत वर्ष खुर्सानी बिक्री गरेर चार लाख रुपैयाँ आम्दानी गरेका पुन यसपालि बजार र मूल्यको समस्याले चिन्तित छन् ।
“राम्रो मूल्य पाउने हो भने यसपालि भकिम्लीबाट २० लाख रुपैयाँभन्दा बढीको खुर्सानी बिक्री हुन सक्छ,” उनले भने, “दुई वर्षअघि प्रतिकिलो ३५० रुपैयाँसम्म बिक्री भएको खुर्सानी गत वर्ष १९० रुपैयाँसम्ममा बिक्री भएको थियो । यस वर्ष भने प्रतिकिलो १३० रुपैयाँ पाउन पनि मुस्किल भइरहेको छ ।”
भकिम्लीमा गोविन्द नेपाली, लालबहादुर पुन, राम रुचाल, खिम आले, कुल पुन, जगदेवी घर्ती र मनी रोकालगायत १० जना किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन् । सस्तो मूल्यमा खुर्सानी खरिद गर्ने केही व्यापारीले भुक्तानी नदिँदा किसान थप समस्यामा परेको पुनले बताए ।
भकिम्लीका किसानले तीन वर्षदेखि व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्न थालेका हुन् । बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाका अनुसार ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका रूपमा गरिएको खेती सफल भएपछि किसान व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् । यसअघि भकिम्लीमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको थिएन । खेती प्रवर्द्धनका लागि कृषि विकास कार्यालयले तरकारी खेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदानसमेत उपलब्ध गराएको थियो ।
कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले भकिम्लीको उच्च पहाडी भूगोल र हावापानी अकबरे खुर्सानी खेतीका लागि अनुकूल रहेको बताए । उनका अनुसार दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाडी तथा तराईका क्षेत्रमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।
भकिम्लीमा उत्पादन भएको खुर्सानी बिक्रीका लागि बेनी, दरवाङ, तातोपानी, गलेश्वर, मुस्ताङ, बाबियाचौर, कुश्मा र बागलुङलगायत स्थानीय बजार रहेका छन् । तर, बजारको पहुँच र उचित मूल्यको अभावले किसानले अपेक्षित आम्दानी लिन सकेका छैनन् ।
परम्परागत कोदो र मकै खेतीको विकल्पमा अकबरे खुर्सानी लगाएका कुलबहादुर पुनले फूल खेल्न थालेपछि बोट सुक्ने समस्या देखिएकाले उत्पादनबाट अपेक्षित आम्दानी लिन नसकेको गुनासो गरे ।
बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनका अनुसार खुर्सानीको बजारीकरणका लागि किसान र व्यापारीबीच सम्पर्क तथा समन्वय गराउने काम भइरहेको छ । रोग तथा किराको समस्या देखिएका स्थानमा कृषि प्राविधिकसमेत परिचालन गरिएको उनले बताए ।
उत्पादन भएको खुर्सानी ताजा अवस्थामा बिक्री हुन नसके सुकाएर प्रशोधन गर्ने तथा सुरक्षित रूपमा प्याकिङ गरेर भण्डारण गर्न सकिने व्यवस्था आवश्यक रहेको किसानको भनाइ छ । यसका लागि किसानलाई प्रशोधन, प्याकेजिङ र भण्डारणसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने तालिम सञ्चालन गर्नुपर्ने देखिएको छ ।