दमौली (तनहुँ) । तनहुँमा वन संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनमार्फत आर्थिक गतिविधि विस्तार हुन थालेको छ । वनलाई संरक्षणको क्षेत्रका रूपमा मात्रै नभई स्थानीय समुदायको आयआर्जन र रोजगारीको आधार बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।
डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ ।
कार्यालय प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रको संरक्षण, वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनको सक्रियताले आर्थिक कारोबारमा योगदान पुर्याएको हो । वनलाई स्थानीय समुदायको आयआर्जन र रोजगारीको आधारका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
तनहुँमा १२२ वटा सामुदायिक वनमार्फत वन व्यवस्थापन तथा संरक्षणका गतिविधि सञ्चालन हुँदै आएका छन् । सामुदायिक वनबाट प्राप्त आम्दानी सम्बन्धित वन समूहका उपभोक्ताको हितमा खर्च गर्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले वनबाट प्राप्त आम्दानी वन संरक्षण, विकास तथा सामाजिक र सामुदायिक हितका काममा परिचालन गर्नुपर्नेमा जोड दिएको छ ।
८७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी
वन क्षेत्रले जिल्लामा रोजगारी सिर्जना गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वनसम्बन्धी विभिन्न गतिविधिमार्फत ८७ हजार ८४९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
वन व्यवस्थापन, वन पैदावार सङ्कलन तथा उपयोग, पोल थिनिङ, वन डढेलो नियन्त्रण र वृक्षरोपणलगायतका काममा स्थानीय जनशक्ति परिचालन गरिएकाले रोजगारीका अवसर सिर्जना भएको कार्यालयले जनाएको छ ।
वन व्यवस्थापनअन्तर्गत आवश्यकताअनुसार वन क्षेत्र सुधार गर्ने, घना भएका क्षेत्रमा पोल थिनिङ गर्ने तथा वनको उत्पादनशीलता बढाउने कामलाई प्राथमिकता दिइएको छ ।
वन क्षेत्रलाई दीर्घकालीन रूपमा उत्पादनशील र दिगो बनाउन वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापन आवश्यक रहेको कार्यालय प्रमुख रानाभाटले बताए ।
१८ हेक्टरमा वृक्षरोपण
डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न स्थानमा १८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको छ । वन क्षेत्रको संरक्षण र विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ ।
वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने कार्यलाई पनि प्राथमिकता दिइएको छ । वन क्षेत्र विस्तारबाट भूक्षय नियन्त्रण, जलाधार संरक्षण, जैविक विविधताको संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको रानाभाटले बताए ।
सुक्खायाममा हुने वन डढेलो नियन्त्रणका लागि पनि कार्यालयले विभिन्न गतिविधि सञ्चालन गरेको छ । वन डढेलोबाट वन क्षेत्र, वन्यजन्तु तथा जैविक विविधतामा हुने क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय र सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा नियन्त्रणका काम अघि बढाइएको हो ।
डढेलो नियन्त्रणका लागि पूर्वतयारी, सचेतना र आवश्यकताअनुसार नियन्त्रणका गतिविधि सञ्चालन गरिएको कार्यालयले जनाएको छ । वन डढेलो नियन्त्रणमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण हुने भएकाले सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइएको कार्यालयको भनाइ छ ।
वन संरक्षणका अतिरिक्त जिल्लामा वन्यजन्तुको उद्धार तथा राहतका गतिविधिसमेत सञ्चालन हुँदै आएका छन् । मानव बस्तीमा प्रवेश गरेका, घाइते अवस्थामा भेटिएका वा जोखिममा परेका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन तथा उपचारको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
तीन हेक्टरमा रुद्राक्षको पकेट क्षेत्र
वन तथा कृषि क्षेत्रलाई जोडेर स्थानीयस्तरमा आयआर्जन बढाउने उद्देश्यले तनहुँमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको छ । कार्यालयका अनुसार जिल्लामा तीन हेक्टर क्षेत्रफलमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको हो ।
रुद्राक्षखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन सके स्थानीयस्तरमा आयआर्जनका अवसर सिर्जना हुनुका साथै वन तथा गैरकाष्ठ वन पैदावारमा आधारित आर्थिक गतिविधि विस्तार गर्न सकिने रानाभाटले बताए ।
यसैगरी, जिल्लामा आठवटा नमुना सामुदायिक वन स्थापना गरिएको छ । नमुना सामुदायिक वनमार्फत वन संरक्षण, व्यवस्थापन, वन पैदावारको दिगो उपयोग तथा समुदायको सहभागितालाई प्रभावकारी बनाउने उद्देश्य राखिएको कार्यालयले जनाएको छ ।