काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा निधन भएको छ।
आगलागीमा गम्भीर घाइते भएका चालकको सोमबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
अस्पतालका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वर चोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको आशंका गरिएको छ। घटनाअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ।
प्रहरीले आगलागीको कारण र घटनाको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको छ। घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएका छन्।