लमजुङ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको काम पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षभित्र निर्माण सक्नेगरी सम्झौता गरिएको अस्पतालको काम २०८१ असारदेखि रोकिएको छ ।
अस्पताल निर्माणका लागि विसं २०७८ साउन १९ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले पटकपटक म्याद थप्दै लगे पनि कामले अपेक्षित गति लिन नसकेको गाउँपालिकाले जनाएको छ । पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि म्याद थप गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाउँदै पटकपटक म्याद थप गराए पनि निर्माणमा उल्लेख्य प्रगति हुन सकेको छैन । निर्माण कार्य क्रमशः सुस्त हुँदै रोकिएको उनले बताए ।
निर्माण व्यवसायीलाई काम अघि बढाउन पटकपटक ध्यानाकर्षण गराउँदासमेत अपेक्षित प्रगति हुन नसकेको वाग्लेले जानकारी दिए । उनका अनुसार हालसम्म करिब एक करोड ८३ लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको छ ।
गाउँपालिकाका सबइन्जिनियर प्रकाश शेरचनका अनुसार अस्पताल भवनको भुइँतला ढलानसम्मको काम भएको छ । त्यसपछि निर्माण कार्य अघि बढ्न सकेको छैन । सम्झौताको दुई वर्षसम्म पनि निर्माणले गति लिन नसकेको बताउँदै उनले उक्त अवधिमा करिब पाँचदेखि छ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।
सुरुमा जग खन्ने, जमिन सम्याउनेलगायतका काम गरिएको थियो । पटकपटक म्याद थप गर्दा पनि निर्माण अघि नबढेपछि निर्माण व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको शेरचनले बताए ।
गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल निर्माणले अपेक्षित गति लिन नसकेको बताए । पछिल्लो पटक थपिएको तीन महिनाको अवधिमा निर्माण कार्य अघि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
“अब थपिएको समयमा पनि निर्माण प्रक्रिया अगाडि बढेन भने ठेक्का तोड्ने वा कानुनी कारबाही के गर्ने भन्नेबारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ”, अध्यक्ष गुरुङले भने ।
अस्पताल निर्माणका लागि गाउँपालिकाले करिब २० करोड रुपैयाँ लागत अनुमान गरेको थियो । तर, निर्माण व्यवसायीसँग १३ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको अस्पतालको विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो ।
अस्पताल निर्माण सम्पन्न भएपछि क्व्होलासोथार गाउँपालिकाका स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।