म्याग्दी । उमेरले ६५ वर्ष पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दैनिकी अझै लेकाली घुम्तीगोठमै बित्ने गरेको छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै दिन सुरु गर्ने उनी साँझ गोठमा फर्किएपछि पशुधनको सुरक्षामा खटिन्छन् ।
रोजगारीको खोजीमा एक वर्ष कुवेत पुगेका तिलिजालाई विदेशको बसाइँ लामो समय मन परेन । त्यसपछि जन्मथलो फर्किएका उनले २० वर्षसम्म भैँसीपालन गरे । पछिल्लो आठ वर्षदेखि भने उनी भेडाबाख्रापालनमा रमाइरहेका छन् ।
“विदेशमा गएर पनि दुःख गर्नुपर्ने रहेछ । आफ्नै ठाउँमा केही गर्न सकिन्छ भने किन विदेश जानु भन्ने लाग्यो”, तिलिजाले भने, “उमेरले साथ दिउन्जेल यही काम गर्छु ।”
उनका गोठमा रहेका १५ वटा भैँसी कास्कीको पूर्णगाउँका व्यापारीले खरिद गरेपछि उनले नयाँ व्यवसायको विकल्प खोज्नुपरेको थियो । बुढेसकालमा घरमै फुर्सदिलो भएर बस्न मन नलागेपछि आफन्त लालवीर तिलिजासँगै घुम्ती भेडागोठमा बस्न थाले । अरूको गोठमा बसेर सुरु गरेको भेडापालन अहिले उनको आफ्नै व्यवसाय बनेको छ ।
हाल तिलिजासँग करिब २०० भेडाबाख्रा छन् । जनैपूर्णिमाको अवसरमा मात्रै उनले ५० वटा बोका तथा साँड बिक्री गरेका थिए । उनका अनुसार करिब छ महिना पालेको भेडाको साँड प्रतिगोटा १५ हजारदेखि २२ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । दुई वर्ष पुगेका साँडको मूल्य भने ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।
भेडाबाख्रा बिक्रीबाट प्राप्त हुने आम्दानीले उनको घरव्यवहार चलिरहेको छ । छोराछोरीको पढाइदेखि दैनिक आवश्यकतासम्मको खर्च यही व्यवसायबाट जुटाउने गरेको उनी बताउँछन् ।
लेकदेखि बेँसीसम्मको घुम्ती जीवन
घुम्तीगोठको जीवन एउटै ठाउँमा सीमित हुँदैन । मौसमअनुसार चरन क्षेत्र परिवर्तन गर्नुपर्ने भएकाले गोठालाहरू निरन्तर यात्रामा रहन्छन् । तिलिजा पनि हिउँदमा पाउद्वार, शिख, घार र नारच्याङ हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकासम्म भेडाबाख्रा चराउन पुग्छन् । बर्खायाममा भने उनको गोठ करिब चार हजार मिटर उचाइमा रहेको खयर खोलासम्म पुग्ने गर्छ ।
लेकाली क्षेत्रमा हरियाली र पर्याप्त चरन पाइने भए पनि वर्षायाममा झरी, बादल, चिसो र एकान्तले घुम्तीगोठको जीवन कठिन बनाउँछ ।
“बर्खामा तीन–चार महिना झरी र बादलमै बस्नुपर्छ । घरपरिवार र आफन्तसँग भेटघाट हुँदैन”, उनले भने, “गोठमा बस्न आवश्यक सबै सामान बोकेरै जानुपर्छ ।”
चिसो बढ्न थालेपछि भेडाबाख्राको गोठ बेँसीतिर झारिन्छ । मौसमअनुसार चरन क्षेत्र परिवर्तन गर्ने परम्परागत अभ्यासले पशुधनका लागि घाँसको व्यवस्था गरे पनि गोठालाहरूलाई भने निरन्तर हिँडडुल गर्नुपर्ने बाध्यता छ ।
तिलिजाको अनुभवमा भैँसीपालनभन्दा भेडाबाख्रा पाल्न सहज छ । यसबाट तुलनात्मक रूपमा छिटो आम्दानी लिन सकिने भएकाले पनि उनी यो व्यवसायप्रति सन्तुष्ट छन् ।
पशुधन जोगाउन चार कुकुरको पहरा
बस्तीबाट टाढा जङ्गल र लेकाली क्षेत्रमा बस्नुपर्ने भएकाले घुम्तीगोठमा पशुधनको सुरक्षा प्रमुख चुनौती हो । विशेषगरी चितुवा, ब्वाँसोलगायत जङ्गली जनावरको आक्रमणबाट भेडाबाख्रा जोगाउन गोठालालाई सधैँ सतर्क रहनुपर्छ ।
तिलिजाले आफ्नो गोठमा भेडाबाख्रासँगै चार वटा कुकुर पनि पालेका छन् । दिउँसो पशु चरनमा गएका बेला कुकुरले रेखदेख गर्छन् भने राति गोठ वरिपरि घुमेर पहरा दिन्छन् ।
चितुवा वा ब्वाँसो देखिएमा भुकेर सङ्केत गर्ने र कतिपय अवस्थामा जङ्गली जनावरसँग भिडेर पशुधन जोगाउने गरेको तिलिजा बताउँछन् ।
“कुकुर नभए गोठमा भेडाबाख्रा जोगाउन गाह्रो हुन्छ”, उनले भने, “रातभर गोठको पहरा उनीहरूले नै दिन्छन् ।”
चट्याङले एकैपटक ६० भेडाबाख्रा गुमाए
घुम्तीगोठको जीवनमा तिलिजाले सुखसँगै ठूलो पीडा पनि भोगेका छन् । दुई वर्षअघि चट्याङ पर्दा उनले एकैपटक ६० वटा भेडाबाख्रा गुमाए । वर्षौंको मेहनतले हुर्काएका पशु एकैछिनमा मर्दा उनलाई व्यवसाय नै छाड्ने सोचसमेत आएको थियो ।
तर क्षतिपछि पनि उनले हिम्मत हारेनन् । बिस्तारै भेडाबाख्रा थप्दै व्यवसायलाई निरन्तरता दिए । अहिले उनी पुनः पुरानै अवस्थामा फर्किएको बताउँछन् ।
“एकैपटक धेरै पशु मर्दा निकै दुःख लाग्यो । तर दुःख लाग्यो भनेर छाडेर बस्न सकिएन”, उनले भने, “फेरि थप्दै गएँ, अहिले पहिले जस्तै भएको छ ।”
घुम्ती पशुपालनमा बढ्दो चुनौती
पछिल्लो समय घुम्तीगोठमा भेडाबाख्रा पाल्ने किसानले विभिन्न चुनौती सामना गर्नुपरेको तिलिजाको अनुभव छ । हिउँदमा बेँसी क्षेत्रमा चितुवालगायत जङ्गली जनावरको आक्रमणको जोखिम हुन्छ भने बर्खामा लेकाली क्षेत्रमा पाइने विषालु घाँसले पशुचौपायालाई असर गर्ने गरेको छ ।
त्यसैगरी गोठमा काम गर्ने मजदुर पाउन पनि कठिन हुँदै गएको छ । गोठालाको कामप्रति युवापुस्ताको आकर्षण घट्दै जाँदा पुराना पुस्ताका पशुपालकलाई थप जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएको छ ।
लामो समय परिवारबाट टाढा बस्नुपर्ने, प्रतिकूल मौसमको सामना गर्नुपर्ने र पशुधनको सुरक्षाको जिम्मेवारी आफैँले लिनुपर्ने भएकाले घुम्तीगोठको जीवन सहज छैन । यद्यपि, यी चुनौतीले तिलिजाको पशुपालनप्रतिको लगाव घटाउन सकेका छैनन् ।
विदेशको दुःखले गाउँ फर्किए, पशुपालनमै बनाए आत्मनिर्भर जीवन
औपचारिक शिक्षा नपाएका तिलिजाले रोजगारीको खोजीमा विदेशको बाटो रोजेका थिए । कुवेतमा काम गर्दाको दुःख र स्वदेशमा जागिरको अवसर नपाएपछि उनले पुख्र्यौली जीवनशैलीसँग जोडिएको घुम्ती पशुपालनलाई जीविकोपार्जनको माध्यम बनाए ।
“शिक्षा नभएकाले विदेशमा काम गर्न दुःख भयो । यहाँ जागिर पनि पाइएन”, उनले भने, “त्यसपछि पशुपालनलाई नै जीविकोपार्जनको माध्यम बनाएँ ।”
भेडाबाख्राको हुल, लेकाली चरन र पहरेदार कुकुरसँगै बितिरहेको उनको जीवन अहिले आत्मनिर्भरताको आधार बनेको छ । कहिले चार हजार मिटर उचाइको खयर खोलामा त कहिले बेँसीका फाँटमा पुग्ने तिलिजाको दैनिकी मौसमसँगै फेरिन्छ ।
उमेर बढ्दै गए पनि उनले घुम्तीगोठ छाड्ने योजना बनाएका छैनन् ।
“शरीरले साथ दिएसम्म भेडापालन गर्छु”, उनी भन्छन् ।
बस्तीबाट टाढा रहेर झरी, चिसो र जङ्गली जनावरको जोखिमबीच बित्ने घुम्तीगोठको जीवन धेरैका लागि कठिन हुन सक्छ । तर टीकाजीत तिलिजाका लागि यही गोठ रोजगारी, आत्मनिर्भरता र जीवनप्रतिको लगावको आधार बनेको छ ।