राँझा– नेपालगञ्जमा बाँदरको आक्रमणबाट पछिल्लो डेढ महिनामा ४० जना सर्वसाधारण घाइते भएका छन्। बाँदरलाई लखेट्ने क्रममा तथा घरघरमै पसेर आक्रमण गर्दा सर्वसाधारण घाइते हुने गरेका हुन्।
भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहेका डा. बद्री चापागाईंका अनुसार पछिल्लो ४५ दिनमा बाँदरको आक्रमणबाट घाइते भएका ४० जना उपचारका लागि अस्पताल पुगेका छन्।
उनले नेपालगञ्जमा बाँदरको टोकाइबाट घाइते भएर अस्पताल आउने बिरामीको सङ्ख्या बढ्नु नयाँ घटना भएको बताए। उनका अनुसार कुकुर, बिरालो र सर्पको टोकाइबाट घाइते भएर अस्पताल आउने क्रम पुरानै भए पनि बाँदर घरभित्रै पसेर मानिसलाई टोक्ने घटना भने पछिल्लो समय देखिन थालेको हो।
‘कुकुर, बिरालो र सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै हो’, डा. चापागाईंले भने, ‘तर अहिले बाँदरले समेत घरघरमै पसेर मान्छेलाई टोकेको घटना अचम्म लाग्दो छ।’
उनले सहरमा बाँदरको गतिविधि बढ्दै गएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। बाँदरको आक्रमणमा परेमा ढिलाइ नगरी उपचारका लागि अस्पताल पुग्नसमेत उनले सुझाव दिएका छन्।
डा. चापागाईंले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो ४५ दिनमा भेरी अस्पतालमा एक हजार ३६ जना जनावरजन्य टोकाइका बिरामी उपचारका लागि आएका छन्।
तीमध्ये सबैभन्दा धेरै ८६५ जना कुकुरको टोकाइबाट घाइते भएका छन्। त्यसैगरी बिरालोको टोकाइबाट ११० जना, बाँदरको आक्रमणबाट ४० जना र मुसाको टोकाइबाट २१ जना घाइते भएका छन्।
यस अवधिमा सर्पदंशका ११८ जना बिरामी पनि उपचारका लागि भेरी अस्पताल पुगेका छन्। त्यस्तै, कीराको टोकाइबाट घाइते भएका चार जना र कुन जीवजन्तुले टोकेको भन्ने थाहा नभएका १९ जना बिरामीले पनि अस्पतालमा उपचार सेवा लिएका छन्।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले गाउँघरमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजार क्षेत्रमा यस्तो घटना देखिनु नयाँ भएको बताए।
उनका अनुसार बाँदरको टोकाइबाट घाइते भएका बिरामीलाई जङ्गली जनावरको आक्रमणमा परेको मानेर रेबिजविरुद्धको खोप दिइने गरिएको छ। साथै, बिरामीलाई आवश्यकताअनुसार सहज रूपमा उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।