झापा । कोशी प्रदेशमा डेंगु संक्रमण बढ्दै गएको छ । प्रदेशका १३ जिल्लामा संक्रमण फैलिँदा झापा सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म प्रदेशभर ७ सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार झापामा सबैभन्दा धेरै २ सय २८ जनामा संक्रमण देखिएको छ । त्यस्तै, सुनसरीमा २ सय ३ जना संक्रमित भएका छन् । संक्रमितको संख्याका आधारमा सुनसरी प्रदेशको दोस्रो प्रभावित जिल्ला बनेको छ ।
निर्देशनालयका अनुसार ओखलढुंगामा १ सय २२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, संखुवासभामा १८, मोरङमा २०, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
लुईँटेलका अनुसार सोही अवधिमा विभिन्न जिल्लाका अस्पतालमा डेंगुका ५१ सम्भावित र दुई शंकास्पद बिरामी रहेका छन् ।
प्रदेशमा संक्रमणको जोखिम बढ्दै गएकाले लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने लगायतका अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् । लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका उपाय प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।