भद्रपुर (झापा) । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र आवश्यक तयारी पूरा भएको कार्यालयले जनाएको छ ।
जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी अभियान सञ्चालन गरिनेछ । यसका लागि करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए ।
उनका अनुसार जिल्लामा जेई सङ्क्रमण र यसबाट हुने मृत्युदर बढ्दै गएपछि उच्च सतर्कतासहित खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताए ।
“लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरेका छौँ”, उनले भने, “खोप सुरक्षित भएकाले लक्षित समूहका नागरिकले अभियानमा सहभागी भएर खोप लगाउन आवश्यक छ ।”
स्वास्थ्य कार्यालयका अनुसार गर्भवती महिला, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) भएको व्यक्ति तथा खोपमा प्रयोग गरिएका कुनै पनि तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन । त्यस्तै, ज्वरो आएको अवस्थामा खोप नलगाउन र ज्वरो निको भएपछि खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।
जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । सङ्क्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ ।