बर्दिया । श्रीमान्को हेरचाहमा दुई दशक बिताएकी बढैयाताल गाउँपालिका–९ जनतानगरकी सीता चौधरीलाई अहिले घरमै बसेर आम्दानी गर्न सकिने आशा पलाएको छ । श्रीमान् वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि उनको अधिकांश समय हेरचाहमै बित्ने गरेको थियो ।
श्रीमान्को दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनुपर्यो । हेरचाहको जिम्मेवारीका कारण नियमित रोजगारी तथा अन्य आयआर्जनका गतिविधिमा संलग्न हुन उनलाई कठिन हुँदै आएको थियो ।
सीताजस्तै बढैयातालकै देवीराम थारूको आठ वर्षदेखि आमाको हेरचाहमै अधिकांश समय बितिरहेको छ । उच्च रक्तचापलगायतका स्वास्थ्य समस्याका कारण आमा पूर्ण अपाङ्गता भएपछि उनलाई पनि बाहिर गएर रोजगारी गर्ने अवसर सीमित भएको थियो ।
तर, घरमै बसेर आयआर्जन गर्न सकिने सीप सिक्ने अवसर पाएपछि सीता र देवीराममा नयाँ आशा पलाएको छ । बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यलाई बेतबाँसका सामग्री निर्माणसम्बन्धी झन्डै एकमहिने तालिम दिन थालेपछि उनीहरू उत्साहित भएका हुन् ।
तालिमबाट सिकेको सीपलाई आम्दानीको स्रोत बनाउन सकिने विश्वास बढेको सीताले बताइन् । फुर्सदको समयमा घरमै बेतबाँसका सामग्री निर्माण गरेर आम्दानी गर्न सकिने उनको अपेक्षा छ ।
“सीप नै आम्दानीको स्रोत बन्ने विश्वास छ”, उनले भनिन् ।
देवीरामले पनि तालिमबाट घरमै बसेर विभिन्न सामग्री निर्माण गर्न सक्ने भएको बताए । “यसअघि आमाको हेरचाहका लागि घरमा यत्तिकै दिन बित्ने गरेको थियो । बाहिर जाने अवस्था थिएन”, उनले भने, “अहिले घरमै बसेर मुडा, पूजा टोकरी, ह्याङ्गरलगायतका सामग्री निर्माण गर्न सक्ने भएको छु ।”
सीता र देवीराम यसका उदाहरण मात्रै हुन् । उनीहरूजस्तै बर्दियाको गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका सदस्य तालिमबाट लाभान्वित भएका छन् । तालिमपछि सहभागीहरूले विभिन्न सामग्री निर्माण गर्न थालेका छन् ।
अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई उन्नतस्तरको तालिम, सीप र आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अपाङ्ग पुनःस्थापना केन्द्र बर्दियाले जनाएको छ । आरआरएन, डिजीएम नेपाल र एबीलिस फाउन्डेसनको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको हो ।
केन्द्रका अनुसार बर्दियामा १७ हजार अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये करिब पाँच हजार जना पूर्ण अपाङ्गता भएका व्यक्ति परिवारको सहारामा जीवनयापन गरिरहेका छन् ।
केन्द्रका अध्यक्ष नेत्र सापकोटाले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक बोझका रूपमा हेर्न नहुने बताए । सीप र अवसर उपलब्ध गराउन सके उनीहरूलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।
“अपाङ्गता भएका व्यक्तिले सीप र अवसर पाए आत्मनिर्भर बन्न सक्छन् । आफ्नै सहारामा पनि जीवनयापन गर्न सक्ने बनाउन सकिन्छ”, उनले भने, “त्यही उद्देश्यले बेतबाँसका सामग्री निर्माणसम्बन्धी तालिम आयोजना गरेका हौँ ।”
तालिमबाट उत्पादित सामग्री बिक्री नभएको अवस्थामा बजारीकरणको जिम्मेवारी संस्थाले लिने पनि केन्द्रले जनाएको छ । बेतबाँसबाट बनेका सामग्रीको बजारमा माग राम्रो रहेकाले सहभागीले सिकेको सीपलाई उत्पादन र बजारसँग जोड्ने प्रयास भइरहेको अध्यक्ष सापकोटाले बताए ।
बेतबाँसका सामग्री निर्माणका लागि आवश्यक कच्चा पदार्थ स्थानीय सामुदायिक वनबाट व्यवस्थापन गर्ने पहलसमेत भइरहेको केन्द्रले जनाएको छ । स्थानीय स्रोतसाधनको उपयोग गरी वातावरणमैत्री सामग्री उत्पादन गर्दा आर्थिक तथा वातावरणीय दुवै लाभ लिन सकिने केन्द्रको विश्वास छ ।
पूर्ण अपाङ्गता भएका व्यक्तिको नियमित हेरचाह गर्नुपर्ने बाध्यताका कारण उनीहरूका परिवारका सदस्यले रोजगारी र आयआर्जनका अवसर गुमाउनुपर्ने अवस्था छ । औषधोपचार, हेरचाह तथा दैनिक आवश्यकतामा हुने खर्चले परिवारमाथि थप आर्थिक भारसमेत पर्ने गरेको छ ।
यस्तो अवस्थामा घरमै बसेर गर्न सकिने सीपमूलक तालिम र रोजगारीका अवसरले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।