काठमाडौँ । देशभर हाल मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।
मौसम प्रणालीको प्रभावले देशभर सामान्यतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल रहनेछ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।