काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै कांग्रेसलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरेका छन्।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार श्रद्धाञ्जली व्यक्त गर्दै थापाले १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने अवसर मात्र नभई अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर भएको बताए।
‘हामी १५औँ महाधिवेशनको यात्रामा छौं। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन,’ थापाले भने, ‘गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो।’
समय र चुनौती बदलिँदै गए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व तथा कठिन परिस्थितिमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको उनले बताए।
गणेशमानका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्ने थापाको भनाइ छ।