चितवन । बाढीका कारण १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा आज बिहानदेखि यातायात सेवा पुनःसञ्चालनमा आएको छ । भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा करिब १०० मिटर सडक भासिएर यातायात प्रभावित भएको थियो ।
सडक पूर्णरूपमा क्षतिग्रस्त भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माणको काम सुरु गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि आज बिहानदेखि नयाँ ट्र्याकमार्फत दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।
सडक पुनःस्थापनाका लागि पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी छोटो समयमै नयाँ ट्र्याक निर्माण गरेको हो । सडकमा लामो समयदेखि रोकिएका केही सवारीसाधनलाई दुई दिनअघिदेखि नै साँझको समयमा पार गराउन थालिएको थियो । आजदेखि भने नियमित रूपमा यातायात सञ्चालन गरिएको हो ।
कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको यातायात पनि आजदेखि सञ्चालनमा ल्याइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सडक सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक रूपमा सडक रोक्दै गरिएको पहिरो नियन्त्रणको काम स्थगित गरिएको जानकारी दिए ।
कृष्णभीरमा लामो समय सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानीतर्फ आवतजावत गर्न नसक्दा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्तिसमेत प्रभावित भएको थियो ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । त्यसपछि भदौ १४ गते आएको थप बाढीले कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षति पुर्याएको थियो । अन्य स्थानमा यातायात सहज भए पनि कृष्णभीरमा सडक नै पूर्णरूपमा भासिएपछि लामो समय समस्या भएको थियो ।
पृथ्वी राजमार्गको उक्त सडकखण्ड हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।