राँझा । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्म ६०७ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित क्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएका छन्।
डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टंक गुरुङका अनुसार जिल्लामा हालसम्म ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ।
वनक्षेत्र अतिक्रमणको ठूलो हिस्सा विगतमा बाढीबाट विस्थापित परिवारसँग सम्बन्धित रहेको कार्यालयले जनाएको छ। नरैनापुर गाउँपालिकामा मात्रै २७३ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ९७५ घरधुरी बसोबास गरिरहेका छन्।
विगतमा बाढीपीडितलाई अस्थायी रूपमा बसोबासका लागि उपलब्ध गराइएको वनक्षेत्र व्यवस्थित हुन नसक्दा अतिक्रमणको समस्या बढ्दै गएको गुरुङले बताए। अतिक्रमण हटाउने प्रयास गरिए पनि पुनः बाढी आएपछि विस्थापित परिवार सोही क्षेत्रमा फर्किएर बसोबास गर्न थालेका थिए।
विसं २०६६ देखि बाढी प्रभावित परिवारलाई बसोबासका लागि उपलब्ध गराइएको वनक्षेत्र व्यवस्थापन हुन नसक्दा समस्या थप जटिल बनेको हो। २०७४ सालको बाढीपछि पनि धेरै परिवार पुनः वनक्षेत्रमा आएर बसोबास गर्न थालेका थिए।
राप्तीसोनारी गाउँपालिकाको वडा नं ५, ६ र ७ मा २११ हेक्टर वनक्षेत्र अतिक्रमण गरी एक हजार ९२५ घरधुरीले बसोबास तथा खेतीपाती गर्दै आएका छन्। त्यस्तै वडा नं २ मा ३२ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ६०४ घरटहरा निर्माण भएका छन्।
राप्तीसोनारीकै वडा नं १, ३ र ४ मा ४१ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ७२ घरधुरी बसोबास गरिरहेको पाइएको छ।
कोहलपुर नगरपालिका–७, ८ र १२ तथा बैजनाथ गाउँपालिका–२ मा पनि वनक्षेत्र अतिक्रमण भएको छ। ती क्षेत्रमा २०४४/४५ देखि २०७१/७२ सम्म गैरबाढीपीडितले २० घरटहरा निर्माण गरेका थिए। अहिले भने तीमध्ये अधिकांश क्षेत्रमा नियमित बसोबास छैन। सात जनाले भने खेतीपाती गर्दै आएका छन्।
यसैगरी, डुडुवा गाउँपालिका–१ बाहेकका अन्य वडा तथा नेपालगञ्जका विभिन्न क्षेत्रमा समेत ३९४ घरटहरा निर्माण भएको गुरुङले जानकारी दिए।
बाँकेमा भएको अधिकांश वन अतिक्रमण २०७५ सालअघि नै भएको डिभिजन वन कार्यालयले जनाएको छ। अतिक्रमित वनक्षेत्र खाली गराउन चालु आर्थिक वर्षमा योजना बनाएर काम अघि बढाइने सूचना अधिकारी गुरुङले बताए।