काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका विदेशी पर्यटक बाढीपछि सम्पर्कविहीन भएका हुन्।
बेपत्ता हुने विदेशी पर्यटकमा २६९ पुरुष, ३२९ महिला र लिङ्ग नखुलेका नौ जना छन्। तीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। विभागका अनुसार भारतका १८९ जना बेपत्ता भएका छन्।
त्यस्तै अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आयरल्यान्डका दुई, इजरायलका एक, लिथुआनियाका एक, मलेसियाका ५५ र नेदरल्यान्ड्सका दुई जना बेपत्ता भएका छन्।
न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रुसका छ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई र स्वीडेनका एक जना बेपत्ता छन्।
यसैगरी लाटभियाका ३३, स्वीजरल्यान्डका एक, इटालीका दुई, चीनका ३७, भियतनामका एक, इस्टोनियाका दुई र दक्षिण कोरियाका नौ जना पर्यटक सम्पर्कविहीन रहेको विभागले जनाएको छ।
बाढीमा परी नेपालका पनि १८८ जना पर्यटक बेपत्ता भएका छन्। उनीहरूमा १६१ पुरुष र २७ महिला छन्। विभागका सूचना अधिकारी घिमिरेका अनुसार बेपत्ता नेपालीमध्ये विदेशी पर्यटकका सहयोगी तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड भ्रमणमा गएका नेपाली रहेका छन्।
यसैबीच, सरकारले विपद्को अवस्थामा उद्धार कार्यलाई निरन्तरता दिएको छ। विभागका अनुसार हालसम्म ३१० जना विदेशी पर्यटकको उद्धार गरिएको छ। उद्धार हुनेमा २५८ पुरुष र ५२ महिला छन्।
बाढीपछि सम्पर्कविहीन भएका मध्ये १३ जना पनि सम्पर्कमा आएका छन्। सम्पर्कमा आउनेमा तीन पुरुष, नौ महिला र एक जना अन्य छन्।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले बेपत्ता पर्यटक र अन्य व्यक्तिको खोजी तथा राहत तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।